१५ असार, काठमाडौँ । आज धान दिवस अर्थात् असार १५, देशभरि असारे गीत गाउँदै र धान रोप्दै धान पर्व मनाइँदै छ । कृषि मन्त्री हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर यस वर्षको असार १५ मनाए ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् ।
कृषिमन्त्री गजुरेलले यस वर्ष नौलो तरिकाले धान दिवस मनाएका छन् । तर, गत वर्षको रोपाइँ कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरि पराजुली आफ्नै हर्कतका कारण मन्त्री पद त्याग गर्न पुगेका थिए ।
कृषि प्रधान देश नेपालका लागि असार १५ महत्त्वको दिन समेत मानिन्छ । असार महिना कृषकहरुका लागि खेती लगाउन चटारो हुने समय हो । किसानहरु असारमा आ–आफ्नो खेतबारी व्यस्त रहन्छन् । मानो खाई मुठी रोपेर मुरी अन्न भित्र्याउन श्रम गर्ने महिनाको रुपमा समेत असार महिनालाई लिइन्छ ।
असार १५ लाई केही वर्ष यता धान दिवसका रुपमा मनाउन थालिएको छ । आजको दिनमा रोपाइँजात्रा समेत गरिन्छ ।
असार १५ को अर्को महत्त्व दही च्युरासँग समेत जोडिएको छ । रोपाइँ गर्दै दही च्युरा खाने प्रचलन भए पनि आज सामाजिक सञ्जाल फेसबुकका भित्ताहरुमा समेत दही च्युरा र रोपाईं लागेको देख्न सकिन्छ ।