२० बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले पार्टी एकतालाई कमजोर पार्ने र गुट उन्मुख कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको बैठकले स्थायी कमिटीको बैठक यही बैशाख २५ गते ११ बजे बोलाउने निर्णयसहित यस्तो निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“केन्द्रीय सचिवालयको बैठकले हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या संकटहरुलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने, पार्टी एकतालाई सुदृढकरण गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र पार्टीलाई गुट उन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय भएको छ” बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुलाई भने ।
यसैगरी पार्टीले अहिलेको एकता, सहमति, समाधान निष्कर्ष अनुरुप पार्टीलाई दिशा निर्देशित गर्ने गरी, त्यसका निम्ति आवश्यक छलफल गर्ने गरी स्थायी कमिटिको बैठक यही बैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने निर्णय गरेको भन्दै उनले सो बैठकको तयारीका लागि पार्टी सचिवालयको बैठक २४ गते ३ बजे बस्ने बताए ।
उनले पार्टीलाई एकताबद्ध राख्ने, पार्टी विधि, पद्दति र कम्युनिष्ट मूल्य र मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा, नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजबाद उन्मुख समृद्धि वा सामाजिक, आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने, दिशामा दृढतापूर्णक अघि बढने निर्णय गरेको पनि बताए ।
“पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमी कमोजोरी भएका छन् ती कमी कमजोरीहरुमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नुभएको छ,” प्रवक्ता श्रेष्ठले भने, “त्यसैगरी कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुरुप आत्मालाेचित हुँदै अगाडि बढ्ने संकल्प गरेको छ ।”
आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदबार बनाउने र प्रतिनिधिसभामा लैजाने पहल गर्ने निर्णय गरेका जानकारी उनले दिए ।
प्रवक्ता श्रेष्ठले सिङ्गो पार्टीलाई कोरोना भाइरस संक्रमणको विरुद्ध एकताबद्ध भएर संक्रमणलाई पराजित गर्न सम्पूर्ण पार्टीहरु, नागरिक समाज, पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय समेत गरेको बताए ।
सरकारले छिट्टै संसद अधिवेशन बोलाउने तयारी गरेको जानकारी पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराएको पनि उनले बताए ।
यस्तै सञ्चारकर्मीको प्रश्नमा पार्टीमा तीन अध्यक्षका बनाउने बारे नेता माधव नेपालको बारेमा सामान्य छलफल भए पनि नेपाल उक्त विषयमा नेपाल असहमत रहेको बताए ।