गुट चलाउने सल्लाहकारबाट अपेक्षा गर्नु उचित नहुने रावलको भनाई

१५ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भिम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा बीच सामाजिक सञ्जालमा शाब्दिक युद्ध सुरु भएको छ ।

नेता रावललाई ‘कमरेड, राष्ट्रवादको बहसमा बुझेर नै उत्रिनुभएको हो त ?’ भनी प्रश्न गर्दै सोमबार प्रधामन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका थिए, ‘पार्टीले तपाईका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो ?’

“पुरानो” र “नयाँ कवि” तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि भन्दै थापाले रावलका दुई कविता सार्वजनिक समेत गरेका छन् ।

‘म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ । तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भ्रत्सनाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन’ थापाले आफ्नो फेसबुकमा लेखेका छन् ।

सल्लाहकार थापाले तपाईंको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिदैन भन्दै रावललाई आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाश मात्रै थाम्न खोज्नु उचित होला कि ! भनेर सुझाएका छन् ।

‘आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भनी सल्लाहकार थापाले रावलको कटाक्ष गर्दै तपाईकै “सहप्रवक्ता” भनेर बिट मारेका छन् ।

अर्कोतिर मंगलबार अपरान्ह सामाजिक सञ्जालमै नेकपाका स्थायी समिति सदस्य रावलले २०३२ सालमा आफू कारागारमा हुँदा सूर्य थापा १० महिनाको शिशु रहेको बताएका छन् ।

आफू देशभक्तिबारे बहस गर्न तयार रहेको भन्दै नेता रावलले शिशुलाई कविता, लेख, दस्तावेज साथै आन्दोलनको नेतृत्व थाहा नुहुनु स्वाभाविक रहेको बताएका छन् ।

‘देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रमं के.पी. ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो’ रावलले लेखेका छन्, ‘मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखें र आन्दोलनमा नेतृत्व गरें भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो ।’

नेता रावल अगाडि लेख्छन्, ‘मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई ‘राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो ।”

उनले प्रधानमन्त्रीको सल्लाहकारलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रश्न गरेका छन्, ‘के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै होे त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ?’

थापाले एक्लो वृहस्पति हुन लागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई धम्कि दिएता पनि सुकेको हाँगाको पात नझर्ने बताउँदै नेता रावल लेख्छन्, ‘जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाँका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला ।’