माओवादी केन्द्रको प्रस्ताव : एमालेसँग पार्टी एकता

२२ असोज ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको बताएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित माओवादी केन्द्रको केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको बताएका हुन् ।
एमालेसँग पार्टी एकतासम्मको सहमति गर्दा पार्टीभित्र कुनै पनि तहमा संस्थागत निर्णय नभएको भन्दै नेताहरुले सार्वजनिकरुपमा टिका–टिप्पणी गर्न सुरु भएपछि अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यसम्मलाई शनिबार काठमाडौंमा प्रशिक्षण दिई पार्टी एकताको औचित्यबारे बताएका हुन् ।
‘एमालेसँग चुनावमा ६०/४० मा तालमेलको कुरा भइरहेको थियो तर त्यसले मात्र नेपालको राजनीतिमा तरंग ल्याउँछ भन्ने मलाई लागेकै थिएन । मनमा गाँठो परिरहेकै थियो । म खुसी हुन सकिरहेको थिइनँ,’ दाहालले पार्टी नेताहरूलाई भने, ‘एक दिन एमाले नेता वामदेवसँग कुरा हुँदा तालमेल-सालमेल छाडौं पार्टी एकता गरौं भनेर हामीले भनेका हौं ।’
आकस्मिक र आश्चर्यजनक निर्णय
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विकसित घटनाक्रममा संस्थागत छलफल र बहस नगरी आकस्मिक र आश्चर्यजनक रूपमा नेतृत्वले यस्तो निर्णय लिनुपरेको बताए ।
उनले आफ्नो त्यस्तो प्रस्तावपछि वामदेव उत्साहित हुँदै एमाले अध्यक्ष केपी ओलीसँग प्रस्ताव पुर्याएको र त्यही दिन दुई अध्यक्षबीच एक्ला-एक्लै छलफल भएर एकताको निष्र्कषमा पुगिएको बताए ।
पार्टी एकता संयोजन समिति गठन हुनुलाई प्रचण्डले माओवादीको एमालेकरण र एमालेको माओवादीकरणको रूपमा कसैले पनि लिन नहुने भन्दै देशको आवश्यकताका आधारमा यस्तो निर्णयमा दुवै पार्टी पुगेको बताए ।
गुट बनाउने, आफ्ना व्यक्तिगत इच्छामा मात्रै रमाउने अब ध्वस्त हुन्छन्
उनले वाम एकताको प्रस्तावलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । साथै, यसले अब पनि गुट र गिरोह बनाउने भन्दा पनि वैचारिक राजनीतिक बहसको भट्टीभित्र छिरेर आफ्नो श्रेष्ठता कायम गर्न नेताहरूलाई आग्रह गरे ।
‘स-सानो गिरोह बनाउने गुटको, आफ्ना व्यक्तिगत इच्छामा मात्रै रमाउने यहाँ अब ध्वस्त हुन्छन् । यहाँ चल्दैन त्यस्ता गुटहरू, त्यस्तो चलाखी अब चल्दैन,’ प्रचण्डले भने, ‘अब ग्रेट डिबेटमा दुवै पार्टी र नेताहरू छिरेका छौं । विचारको बहसमा क्षमता प्रदर्शन गरेर मात्र जितिन्छ । आफ्नो श्रेष्ठता कायम गर्न सकिन्छ ।’
निष्कर्षमा पुग्न नदिने षड्यन्त्र हुन सक्ने आशंका
उनले अहिलेको बहसलाई अन्तिम निष्कर्षमा पुग्न नदिने षड्यन्त्र पनि हुन सक्नेतर्फ आशंका व्यक्त गरे ।
‘मलाई त्यतातिर जानै नदिने हो कि भन्ने डर छ । ग्रेट डिबेटमा छिर्नै नदिने, पार्टी एकता संयोजन समितिभन्दा अगाडि जानै नदिने, विभिन्न खालका कसरत हुन्छन्’, प्रचण्डले भने, ‘यहाँ छिर्न मात्र पाइयो भने मैले त धेरै कुराको रूपान्तरण हुने देखेको छु ।’
‘पार्टी एकता कुनै जालझेल, षड्यन्त्रपूर्ण तरिकाबाट हुने कुरा होइन, यो सिधा-सिधा हुने कुरा हो । हिजो पनि पार्टी एकता र विभाजन त्यसैगरी भएका छन् । फेरि नयाँ एकता त्यसरी नै हुन्छन् ।
त्यसकारण एमालेलाई झुक्याउँछौं भनेर हामीले सोच्यौं भने त्यो हाम्रो दृष्टिकोणमा खोट हुन्छ’, प्रचण्डले भने, ‘एमालेले माओवादीलाई सिध्याइदिन्छौं भनेर सोच्यो भने त्यो एमालेका नेताहरूमा खोट हुन्छ । त्यसकारण यो कसैले कसैलाई सिध्याउने भन्ने होइन । यो कसैले झुक्याउने र षड्यन्त्र गरेर सिध्याउने कुरा होइन ।’
पार्टी एकतामा कुनै बेइमानी र छलकपट गर्दैनौं
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी नेताहरूलाई इमानदारीसाथ लाग्न आग्रह गरे । उनले भने, ‘पार्टी एकतामा हामी कुनै बेइमानी, छलकपट गर्दैनौं । हामी माओवादी त्यसो गर्न सक्दैनौं र जान्दैनौं पनि । हाम्रा कुरा सिधा-सिधा हुन्छन् । हाम्राविरुद्ध षड्यन्त्र भयो भन्ने थाहा पायौं भनेदेखि त्यत्तिकै जान्छौं भन्ने सही होइन ।’
प्रचण्डले दुई पार्टीको एकताको बहसले राजनीतिक कार्यदिशाको लाइन र लिडरसिपको विकास गर्दै समाजवादको दिशामा जाने आधार तयार पार्ने विश्वाससमेत व्यक्त गरे ।
वाम गठबन्धनपछि तनाव, दबाव र थ्रेटमा प्रचण्ड
प्रचण्डले वाम गठबन्धन निर्माणपछि आफू उत्तिकै तनाव, दबाव र थ्रेटमा रहेको पनि उक्त प्रशिक्षण कार्यक्रममा बताएका छन् ।
सहमति चुनौतीरहित नरहेको भन्दै प्रचण्डले नेतृत्वको नताले आफूले थुप्रै तनाव, प्रेसर र थ्रेट व्यहोरेको बताउँदै भने, ‘नेतृत्व हुनुको नाताले धेरै खालको प्रेसर, तनावमा म पक्कै पनि छु । परेँ, परिराखेको पनि छु । अहिले जुन पहलकदमी लिइएको छ, त्यसको ऐतिहासिक महत्व छ भन्नेमा मेरो विश्वास छ ।’
‘यसले देशलाई, कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्छ, माओवादीलाई र तपाईं हामी सबैलाई माथि उठाउँछ भन्नेमा मेरो विश्वास छ । तर, यो चुनौतीरहित छैन’, उनले भने, ‘म शब्दहरू तपाईंहरूका अगाडि भन्न चाहन्नँ । मलाई यो बीचमा कस्ता-कस्ता थ्रेट आए भन्ने विषयमा ।’
उनले पोलिटब्युरो तहका नेताहरूलाई आफूलाई कसले थ्रेट दिएको भन्ने नबताए पनि १६ असोजको सचिवालय बैठकमा भने भारतीय पक्षबाट आफूलाई थ्रेट बढेको खुलाएका स्रोतले बताएको छ ।













