गुठी जग्गा व्यवस्थापन गर्ने जिम्मा प्रदेश वा स्थानीय सरकारलाई दिनु – बिजुक्छे

९ असार ०७६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश वा स्थानीय सरकारलाई गुठी जग्गा व्यवस्थापन गर्न दिनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको उद्घाटन गर्दै उनले नेपालका गुठी जग्गा लथालिङ्ग अवस्थामा रहेकाले उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने बताएका हुन् ।

बिजुक्छेले सांस्कृतिक सम्पदाको पुनर्निर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिनु पर्ने सुझाउँदै नगरपालिकाभित्र खाद्य गुणस्तर जाँच गर्ने प्रविधि, कर्मचारीलाई समयसापेक्ष तालिम, सडकपेटी व्यवस्थापन, सफा पशु बधशाला र आदर निकेतनका लागि आवश्यक ऐन बनाउनुपर्ने बताए ।

नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीयताको अर्थ प्रशासनिक, वित्तीय स्वायत्तता र विकेन्द्रीकरण भएको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच एकल तथा साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँटमा समन्वय हुन आवश्यक भएको बताए ।

तपाइको मत