गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै अाज गुरु पूर्णिमा मनाइँदै

२५ असार ०७४, काठमाडौँ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरुपूर्णिमा पर्व मनाउँदैछन् ।

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइन्छ ।

पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने, ‘शनिबार पाँच घडी अर्थात् बिहान ७ बजेर १६ मिनेटसम्म चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि परेको छ, आइतबार बिहान ९ बजेर चार मिनेटसम्म पूर्णिमा छ, यसैले सायंकालको व्रत शनिबार र उदय व्यापिनी पूर्णिमा भएका दिन मनाइने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व आइतबार मनाउने निर्णय गरिएको छ ।’

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको अध्यक्ष गौतमले सुनाए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

तपाइको मत