गुल्मीमा केन्द्रीयस्तरका नेता एकअर्कामा भिड्दै, कसले मार्ला बाजी ?

हुमाकान्त पोखरेल

१७ कार्तिक ०७४, गुल्मी । यसपटक गुल्मीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निकै रोचक हुने देखिएको छ ।

विभिन्न पार्टीबाट राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने नेताहरु एकसाथ चुनावी मैदानमा उत्रिएका छन् ।

गुल्मीमा प्रतिनिधिसभा निर्वाचनमा गुल्मी १ नम्बर निर्वाचन क्षेत्रबाट बाम गठबन्धनका नेता तथा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली र काङ्ग्रेसबाट चन्द्र भण्डारी चुनावी प्रतिस्पर्धामा भिड्दै छन् ।

एमाले पार्टीमा गुटका हिसाबले ज्ञवाली पार्टी अध्यक्ष के.पी. शर्मा ओली निकट मानिन्छन् । भण्डारी काँग्रेसका केन्द्रीय सदस्य हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट एमालेका गोकर्ण विष्ट र काङ्ग्रेसबाट चन्द्र केसीले उम्मेद्ववारी दिएका छन् । विष्ट पार्टीका केन्द्रीय सचिव हुन् । भने, केसी कांग्रेस गुल्मीका पूर्वसभापति र पूर्व जिविस सभापति समेत हुन् ।

असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ तह मध्ये ७ तह एमाले एक्लैले जितेको थियो । भने, काङ्ग्रेसले ३, काङ्ग्रेस–माओवादी तालमेलबाट एक तह माओवादी केन्द्र र एक स्थानीय तह काङ्ग्रेसले जितेको थियो ।

गुल्मीमा तुलनात्मक हिसाबले काङ्ग्रेसभन्दा बाम गठबन्धनका मतदाताहरु धेरै रहेका छन् । यसैबीच केन्द्रीयस्तरका नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ ।

जिल्लामा स्थानीय तहको मत परिणामका हिसाबले पहिलेदेखि नै पहिलो स्थानमा नेकपा एमाले, दोस्रो स्थानमा नेपाली काङ्ग्रेस र तेस्रोमा नेकपा माअ‍ोवादी केन्द्र रहेको देखिन्छ ।

यसैगरी गुल्मीमा ४ प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभामा वाम गठबन्धनबाट माओवादी केन्द्रका सुदर्शन बराल र कांग्रेसबाट पृथ्वी फौदार चुनाव लड्दैछन् । गठबन्धनका बराल २०६४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनबाट एमालेका कमलराज श्रेष्ठ र कांग्रेसबाट धनेन्द्र कार्कीले टिकट पाएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को ‘क’मा बाम गठबन्धनबाट एमालेका खड्ग केसी र कांग्रेसका तर्फबाट शालिक पन्थीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा बाम गठबन्धनबाट माओवादी केन्द्रका दिनेश पन्थी र कांग्रेसबाट छन्द पहराई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

तपाइको मत