गुल्मीमा दोस्रो चरणको स्थानीय तह चुनाव लड्न दुई दर्जन शिक्षकद्वारा राजीनामा

हुमाकान्त पोखरेल 

१४ जेठ ०७४, गुल्मी । वर्षौंदेखि राजनीति गर्दै आएका पार्टीका नेता तथा कार्यकर्तालार्इं चुनावी रौनकले छुनु सामान्य नै मान्न सकिन्छ, तर लामो समयदेखि शिक्षण पेशामा लागेका गुल्मीका शिक्षकहरु जागिर नै छोडेर चुनावी मैदानमा उत्रन थालेका छन् ।

स्थानीय तहको चुनावलाई लक्षित गर्दै विभिन्न तहमा उम्मेदवार प्रस्तुत गर्न जिल्ला शिक्षा कार्यलयमा हालसम्म झण्डै दुई दर्जन शिक्षकले राजीनामा बुझाएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।

राजनीतिक दलहरु आ-आफ्नो पार्टीको प्रचारमा व्यस्त छन् । निर्वाचनको रौनक बढ्दै गएपछि वडा, गाउँपालिका तथा नगरपालिकामा उम्मेदवारहरुको घोषणा हुने क्रम पनि जारी छ ।

पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन पनि त्यसैगरी सम्पन्न हुनेमा गुल्मेलीहरु विश्वस्त छन् ।

गुल्मीको हुँगा घर भएका अनन्तराम पौडेल हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापनरत छन् । उनी अहिले क्याम्पसबाट केही दिनको लागि विदामा छन् तर उनी छत्रकोट गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्न लागेका छन् ।

काङ्ग्रेसबाट गाउँपालिका प्रमुखमा जित सुनिश्ति भएर नै उनले आफूले उम्बेदवारी दिएको बताएका छन् । ‘समाज परिवर्तन र समाजसेवा मेरो मुख्य लक्ष्य हो ।’ उनले भने, ‘त्यसका लागि मैले बेरोजगारीको अन्त्य तथा विकास निर्माणका कामलाई पनि प्राथमिकता दिन्छु ।’

यसैगरी जनप्रिय प्राथमिक विद्यालय बलेटक्सारकी शिक्षिका लक्ष्मिदेवी पन्थले केही समयअघि जिल्ला शिक्षा कार्यलयमा राजीनामा पत्र बुझाइन् ।

एमालेले रुरु गाउँपालिकाको उपप्रमुखको टिकट दिएपछि पन्थले राजीनामा दिएकी हुन् ।

वडाध्यक्षका लागि राजीनामा

रेसुङ्गा नगरपालिका १३ स्थित घोर्ले माध्यमिक विद्यालयका शिक्षक खुमबहादुर खत्रीले शिक्षण पेशा अंगालेको १८ बर्ष भयो । तर उनले रेसुङ्गा नगरपालिका १३ बाट वडाध्यक्षको उम्मेदवार बन्ने भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनले पनि आफूले चुनाव जित्ने आशाका साथ राजीनामा दिएको बताएका छन् ।

त्यस्तै धुर्कोट गाउँपालिका ६ स्थित वाग्लामा रहेको वाग्ला माध्यमिक विद्यालयका शिक्षक हिमप्रसाद पन्थीले पनि चुनावी प्रचारलाई तिव्र बनाएका छन् । उनले नेकपा एमालेको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्न लागेका हुन् । २० बर्षदेखि शिक्षण पेशामा आवद्ध उनी हाल एकाएक राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।

रेसुङ्गा नगरपालिकास्थित भाडगाउँ प्राथमिक विद्यालयका शिक्षक थम्मन केसी नेपाली काङ्ग्रेसका जिल्ला सदस्य पनि हुन् । उनी हाल शिक्षक पदबाट राजीनामा दिएर राजनीतिको चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका ३ बाट वडाध्यक्षको उम्बेदवार बन्न राजीनामा दिएका उनले आफ्नो प्रचार प्रसारलाई तिब्र बनाएको जनाएका छन् ।

जिल्लाभर २५ शिक्षक-शिक्षिकाको राजीनामा

जिल्लामा अध्यापन गराइरहेका २५ जना शिक्षक शिक्षिकाले स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

ती मध्ये एकजनाले गाउँपालिका उपप्रमुख र ८ जनाले वडाध्यक्षमा उम्वेदवारी दिएको विद्यालय निरीक्षक झविलाल विकले बताए । राजीनामा दिएका केही शिक्षकहरुले भने जागिर र उम्मेदवार दुवै नपाएको जिल्ला शिक्षा कार्यलयको जनाएको छ ।

तपाइको मत