१९ चैत्र ०७४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।
साेमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक कार्यक्रमबीच १० सुधार क्षेत्र पहिचान गरी गृहमन्त्री थापाले ८२ बुँदे सुधार योजना-२०७४ सार्वजनिक गरेका हुन् ।
कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लार्इ प्राथमिकता दिएका छन् । मन्त्रालयले आफ्नो मातहतका निकायहरुबाट हुने २५ हजारभन्दा माथिको खर्च विवरण वेबसाईटबाट सार्वजनिक गर्ने भएको छ ।
कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ । यस्तै २०७५ वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने छ ।
साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ ।
गृहमन्त्रीले भने- ‘भारततर्फ एक/एक किलोमिटरमा सुरक्षागढ राखिएका छन् । नेपालतर्फ २५ किलोमिटरको दुरीमा सुरक्षा पोष्ट छन् । यो दूरीलार्इ कम गर्न जनशक्तिको पनि अभाव छ । त्यसलार्इ परिपूर्ति गर्न अब ड्रोनको प्रयोग गर्नेछाैं ।’
जनताको गुनासो सुन्न नि:शल्क टेलिफोन लाइनको व्यवस्था गरिने छ भने दुर्घटना न्यूनिकरण गर्न राजमार्गमा प्रत्येक सय किलोमिटरमा एक आराम केन्द्रको व्यवस्था हुने भएको छ ।













