२७ मंसिर ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग युरोपियन संघ (ईयु)का राजदुत भिरोनिका कोडीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद् व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र सहकार्यको विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले भूकम्प लगायत नेपालमा विभिन्न समयमा भएका विपद्का घटनामा संघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।
गृहमन्त्री थापाले नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको र विपद् व्यवस्थापनका लागि अवाश्यक सामाग्री र दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यस्तो सामाग्री, तालिम र सहयोग संघबाट आफूहरुले अपेक्षा गरेकोे बताए ।
त्यस्तै, गृहमन्त्रीले विपद्को समयमा युवा, विद्यार्थी, नागरिक समाज, रेडक्रस लगायतका संघसंस्थालाई सहयोगमा काम गर्ने गरेको बताए ।
भेटमा राजदुत कोडीले सिमित स्रोत र साधनका वावजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको बताउँदै विपद व्यवस्थापनका लागि संघले नेपाललाई बिभिन्न किसिमका सहयोग गरिरहेको र थप सहयोग गर्न समेत आफूहरु तयार रहेको बताए ।
भेटमा नेपाल र युरोपियन संघ आवद्ध मुलुकहरुबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा समेत छलफल भएको थियो ।














