२५ मंसिर ०७६, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै मन्त्री बादलले उनीहरुको समस्या समाधानका लागि भूमिका खेल्न राजदुत निकोलालाई आग्रह गरेका थिए ।
गृहमन्त्रीले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवादसहित अगामी दिनमा पनि ती क्षेत्रमा थप सहयोग अपेक्षा मन्त्रालयले गरेको गृहमन्त्री बादलले बताएका थिए ।
राजदुत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफूहरु कृतज्ञ रहेको बताइन् ।
बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भीर रहेको र अहिले धेरै समस्याहरु समाधान भइसकेको निकोलाले जानकारी गराइन् ।
भेटवार्तामा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग पनि निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिइन् ।














