गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी काठमाडौंको सिडिओमा सरुवा

२० जेठ ०७४, काठमाडौं । काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडियो)मा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी सरुवा हुनु भएको छ ।

गृह मन्त्रालयले काठमाडौं सिडिओको रिक्त पदमा पन्थीलाई सरुवा गरेको हो । यसअघि जेठ १० गते काठमाडौंको सिडिओबाट हिमनाथ दवाडीले अवकाश पाएपछि त्यहाँ उक्त पद खाली थियो ।

पन्थी गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाको प्रमुख समेत हुनुहुन्थ्यो । काभ्रेको सिडिओ भएका बेला उहाँलाई गृह मन्त्रालयमा सरुवा भएर महत्वपुर्ण जिम्मेवारी दिइएको थियो ।

यसअघि उहाँले डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिराहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रे पलान्चोकको सिडिओ भइसक्नु भएको छ । पन्थी सरुवा भएपछि सुरक्षा समन्वय महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्ले सरुवा हुनु भएको छ ।

गृह मन्त्रालयले करिब एक दर्जन सहसचिव र उपसचिवको सरुवा गरेको हो । सेवा अवकाश, निमित्तको समय अवधी पुरा भएको लगायतका कारण पछिल्लो सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

पन्थीले आइतबारदेखी जिम्मेवारी सम्हाल्नुहुनेछ ।

तपाइको मत