गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल– गृहमन्त्री

१३ साउन ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आर्थिक वर्ष २०७५/०७६मा गृहमन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन् ।

सोमबार गृहमन्त्रालयमा आ.व.०७५/०७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभुत रुपमा सफल भएका छौं, अहिले देखिएका कमी कमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्ने गरी योजना बनाउन आवश्यक छ– उनले भने।’

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५ औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उनले गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभुति अनिवार्य शर्त रहेको भन्दै सोहि अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनमा गत आ.व.२०७५/०७६ मा गृहका काम कारवाही प्रभावकारी देखिएपनि अझै असार मसान्तमा काम सक्ने परिपाटीको अन्त्य नभएको बताए । उनले भने– ‘जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझै देखियो । अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिक भित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम सुरु गरीसक्ने गरी योजना बनाउनुहोला । ’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिव रञ्जन पौडेलले गत आवमा गृहमन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गरे ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

तपाइको मत