३१ असार ०७४, काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार गृहमन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको हो ।
एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । दुबै आईजीपीका दाबेदार थिए । तर, आईजीपीको दाबी गर्दै सर्वोच्च पुगेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् ।
यो बढुवामा भावी आईजीपीको लागि मुख्य दावेदार मानिने बमबहादुर भण्डारी पहिलो नम्बरमा रहेका छन् । भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ ।
प्रचण्ड सरकारले सुरुमा चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । तर, आईजीपीका दाबेदार नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । यो मुद्दा अझै विचाराधीन छ ।
यस्तै आईजीपीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।