२२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सत्ताको उन्माद भएको बताएका छन् ।
बुधबार नेकपाले नयाँ बानेश्वरस्थित इन्द्रेनी फुडल्याण्ड आयोजना गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा नेकपाका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
“यो गैरसंवैधानिक कदम सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो,” उनले भने, “घरमा झगडा भए, घरै सिध्याइदिने, परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?
कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलाई संकटकाल लगाउने थप संकट निम्त्याउँदै जाने षडयन्त्र नगर्न समेत अध्यक्ष नेपालले चेतावनी पनि दिए ।
यसैगरी कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सर साथै इमान्दार तानाशाह भएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कामचलाउ सरकारका प्रधानमन्त्री ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिँदै भने, “केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ । जेलबाट निस्किएर आएपछि उहाँ अग्रमणको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो ।”
उनले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै रहेकाले छिट्टै बिदा हुने बताए ।
“नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैनन्,” रिजालले अगाडि भने, “आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन्, हिजो ज्ञानेन्द्र विदा भए ।
उनले ओलीलाई संसारका निरंकुश शासकहरु मध्येका ओली एक रहेको बताए ।
नेता रिजालले ओली एक व्यक्ति नभएर प्रवृक्ति भएको बताउँदै यो प्रवृत्ति सदाका लागि अन्त्य गर्नु जरुरी रहेको बताए ।
यस्तै कार्यक्रमका अर्का वक्ता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनु पर्नेमा जोड दिएका थिए ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले निंकुशताका विरुद्ध एक भएर लड्नुपर्ने बताए । तर, उनले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आन्दोलन कता जान्छ भनी प्रश्न गरेका थिए ।
यस्तै कार्यक्रममा नेकपा मसालका मोहनविक्रम सिंहले ओलीको निरंकुशताकाविरुद्ध सबै पाटीृ एक भएर लड्नु पर्नेमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपाका दुबै समूहका नेता उन्नाइस बीसको मात्रै रहेको भन्दै घुमाउरो पाराले ओलीको कदम गलत भए पनि घोषित निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए ।
यस्तै राजपाका नेता महन्त ठाकुरले यो संविधानका विषयमा आफूहरुले जारी हुँदै असहमति जनाएको भन्दै संविधान विपरीत प्रधानमन्त्री ओलीले आफूखुसी गरेको भन्दै उनको स्वेच्छाचारी, अलोकतान्त्रिक साथै असंवैधानिक कदमका विरुद्ध सबै एक भएर लड्नु पर्ने बताए ।
नेता ठाकुरले ओलीको राष्ट्रवाद अहिले आएर देखिएको पनि उनले बताए ।