गोकर्णेश्वरमा घरेलु श्रमिकलाई राहत वितरण

३० बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध ‘संघ’ अखिल नेपाल घरेलु श्रमिक संघले श्रमिकहरुलाई राहत वितरण गरेको छ ।

संघले रोजागरी गुमाई रोजीरोटीको समस्यामा परेका २६ जना श्रमिकहरुलाई मंगलबार गोकर्णेश्वर नगरपालिका जोरपाटीमा राहत वितरण गरेको हो ।

वल्र्ड वाइड सर्भिसको सहयोग तथा नेकपा काठमाडौं जिल्ला सदस्य तथा घरेलु श्रमिक संघकी पूर्व अध्यक्ष रेनु कार्की र मनिष श्रेष्ठको विशेष पहलमा श्रमिहरुलाई खाद्यान्न राहत बितरण गरिएको थियो ।

घरेलु श्रमिक संघकी रमा तामाङले दिएको जानकारीअनुसार राहतले तत्काल दैनिकी हल भएपनि कतिपय घरेलु श्रमिकहरुलाई घर साहूहरुले कोरोना संक्रमणको कारण बनाई तलबपछि दिने बताए पछि थप समस्या परेको छ ।

उनले श्रमिकहरुलाई उचित राहतको व्यवस्था सरकार र सरोकारवाला निकायले गर्नुपर्ने बताइन् ।

यस्तै सोमबार अखिल नेपाल यातायात मजदुर संघ गोकर्णेश्वर नगरपालिका अध्यक्ष विष्णु गुरुङको पहल र वडा नं. ६ का वडाध्यक्षको सहयोगमा गोकर्णेशवर नगरपालिकामा रहेका यातायात मजदुरहरुलाई राहत वितरण गरिएको थियो ।