५ भदौ, कञ्चनपुर । यस वर्षको गौरा पर्व भदौ ७ गते पञ्चमीका दिन पर्ने भए पनि सुदूरपश्चिममा यस पर्वको चहलपहल केही दिन अघिदेखि नै सुरु भइसकेको छ ।
सुदूरपश्चिमाञ्चलको धार्मिक एवम् लोक संस्कृति गौरा पर्वको अवसरमा महेन्द्रनगरमा हरेक दिन साँझ खुल्लामञ्च, संविधान चोकलगायतका स्थानमा गौरा खेल्नेको भीड लाग्न थालिसकेको छ ।
स्थानीयवासी महिला पुरुषहरु गौरा घर, मन्दिर परिसरमा छुट्टा-छुट्टै रुपमा गोलबन्द भई गौरा पर्वको विसर्जन नभएसम्म लोक भाषाका देउडा, चैत, घमारी खेलेर रमाइलो गर्छन् ।
यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गर्छन् ।
गौरा र शिवको पूजामा अक्षताका रुपमा प्रयोग हुने ‘विरुडा’ भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा पाँचथरि गेडागुडी भिजाएर राख्छन् ।