१२ भदौ ०७४, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् ।
नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री ‘जागृती’ले जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले विद्यालयको ब्लक निर्माण, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेकाले सोमबार बिहान करिब साढे सात बजे पार्टीनिकट विद्यार्थीहरुले जिशिअलाई कालोमोसो लगाइदिएको बताए ।
जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ४ र ५ जना युवा सुरुमा जिशिअ पौडेललाई नमस्कार गर्दै बैठक हलमा पुगेर सामान्य सोधपुछ लगत्तै ‘हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्ने भन्दै केही युवाले कालोमोसो र जुत्ताको माला लगाउन थालेपछि जिशिअले प्रतिवाद गर्दा लछारपछार भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्न केही व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको बताए ।