काठमाडौं । सुपरहिट भनिएको नेपाली चलचित्र छक्का पञ्जा पुस २८ गते अचानक युट्युब र फेसबुकमार्फत सार्वजनिक भएपछि धेरैको नजर यस फिल्मप्रति गयो ।
‘छक्का पञ्जा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि धेरै अनलाईन मिडियामा सनसनी मच्चियो’ टिभी अन्नपूर्णमा खबर छ, ‘छक्का पञ्जा लिक भएको खबर आउने बित्तिकै हामीले यसका निर्माता तथा कलाकार दीपकराज गिरीलाई फोन सम्पर्क ग-यौं तर उनको फोन लागेन । छक्का पञ्जा लिक गरेको आरोपमा नवलपरासी कावासोतीका २३ वर्षीय कृष्ण सुवेदीले समाचार भाईरल भएकै दिन आत्महत्या गरे ।’
टिभी अन्नपूर्णमा लेखिएको छ, “कृष्णले किन आत्महत्या गरे भन्ने विषयमा आम मानिसलाई चासोको विषय भयो । यो विषयमा हामीले प्रहरी र कृष्णकै परिवारलाई सोध्यौं ।
अन्तत : कृष्णले आत्महत्या गर्नुको पछाडि यस फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरी र प्रहरी अधिकारीहरुबाट भएको टर्चर (मानसिक तनाव) का कारण कृष्णले आत्महत्या गरेको रहस्य खुलेको छ ।
कलाकार गिरीले एक हप्ता अघि नै कृष्ण र उनका साथीहरुलाई आफ्नो गाडीमा हालेर प्रहरीको अपराध महाशाखा टेकुमा पु-याउने अनि टर्चर दिने काम गरिरहेको स्रोतको भनाई छ ।
यो फिल्म पुस २८ गते हिजो लिक नभएर एक हप्ता अघि नै कृष्णले गुगल ड्राईभमा अपलोड गरेका थिए । त्यसैको झोंकमा कलाकार गिरीले कृष्ण लगायत उनका साथीहरुलाई यो फिल्म लिक गरेबापत ५० लाख जरिवाना र दुई वर्ष कैद हुने भन्दै बारम्बार प्रहरीकोमा लगि मानसिक तनाब दिईरहेको कृष्णको साथी सागरले बताएका छन् ।
यसरी भएको थियो छक्का पञ्जाको लिक
चलचित्र छक्का पञ्जाको लिक हुनुको पछाडि कृष्ण सुवेदीको सुरुमा हात नरहेको देखिएको छ । छक्का पञ्जाको लिक हुनुमा सबभन्दा पहिले केही दिनअघि निधन भएका तीतो सत्यका लाजालाम उपनामले चिनिएका कलाकार आरपी भट्टराईका छोरा श्रीजल भट्टराईले यो चलचित्रको कपी सबभन्दा पहिले अनिस रञ्जितलाई दिएका रहेछन् ।
अनिसले आफ्नो साथी सागर सापकोटालाई हेर्नका लागि छक्का पञ्जाको सिडी दिए । सागरसँगै एउटै कोठामा बस्ने कृष्णले साथीले खाना खान गएको मौकामा गुगल ड्राईभमा यो फिल्म अपलोड गरे ।
कृष्णले एक हप्ता अघिल्लो बुधबार नै यो फिल्म अपलोड गरेका थिए । यो कुरा दीपकराज गिरीको कानमा पुग्यो अनि उनले कृष्णलाई टर्चर दिन थाले । गिरीकै कुरा सुनेर बानेश्वर प्रहरीले दिनको एक घण्टा उनीहरुलाई अश्लील भाषामा गाली गर्दै मानसिक यातना दिने गरेको सागरले बताएका छन् ।
को हुन् कृष्ण ? किन आत्महत्या गरे ?
नवलपरासीको कावासोती बस्ने कृष्ण सिनामंगलस्थित नोबेल कलेजबाट ब्याचलर ईन पब्लिक हेल्थ पढेका विद्यार्थी थिए । पढाईमा सधैं अब्बल उनी धुलिखेल अस्पतालमा जागिरका लागि नियुक्ति लिएर बसेका थिए । परिवारमा उनी कान्छो थिए ।
पुस २८ गते बिहान घर पुगेर काठमाडौं फर्किएपछि साँझ सुसाईड नोट लेख्दै उनले गलबन्दीले घाँटीमा पासो लगाएर आत्महत्या गरेको खुल्न आएको छ । कृष्णको परिवारका अनुसार दीपकराज गिरीले बारम्बार एक हप्ताअघि देखि नै कृष्णलाई ज्यान मार्ने धम्की समेत दिंदै आएको बताइएको छ ।
कृष्णका दाजु हरि सुबेदीका अनुसार दीपक गिरीकै टर्चरका कारण आफ्नो भाई कृष्णले आत्महत्या गरेकाले गिरीमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।
के थियो सुसाईड नोटमा ?
आत्महत्या गर्नुअघि कृष्णले एक सुसाईड नोट लेखेका थिए । जुन सुसाईड नोटमा यस्तो लेखिएको छ :
“यो मृत्यु होईन हत्या हो । एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आईरहेको थियो । आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैंयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै नै लेखेको थिएँ ।”
पाईरेसीमा कृष्णको मुख्य भूमिका देखिएन– प्रमुख खनाल