चार पूर्व प्रधानन्यायाधीशलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१५ माघ ०७७, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार चार पूर्व प्रधानन्यायाधीशलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चले रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हाे ।

चार पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि संयुक्त विज्ञप्ति जारी गरेर संयुक्तरूपमा धारणा सार्वजनिक गरेका थिए ।

उक्त संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने साथै प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकले जिकिर गरेकाे छ।