७ पुस, काठमाडौं ।
कीर्तिपुरको चाल्नाखेलमा मंगलबार दिउँसो ग्यास नपाएको झोँकमा स्थानीय र प्रहरी बीच झडप भएको छ । एभरेष्ट ग्यासको डिपो चाल्नाखेलमा आइतबार ग्यास आएपछि स्थानीयबासी जम्मा भएर ग्यास डिपो पुगे । तर, डिपोका प्रमुख शिव घिमिरेले स्थानीयलाई मंगलबार ग्यास दिने बचन दिएकाले बिहानैदेखि करिब ८ देखि ९ सय स्थानीयवासी लाइन बसे । करिब १५०० सिलिण्डर ग्यास रहेको डिपोमा दिउँसो फेरि केही ग्यास थपियो । तर, ग्यास नपाएपछि स्थानीय आक्रोसित भए । उनीहरु तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले रोक्न खोजे । त्यसपछि स्थानीय तोडफोडसँगै प्रहरीमाथि नै जाइलागेपछि केहीबेर चाल्नाखेल तनावमा रह्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।