बनेपा । बनेपाको चण्डेश्वरी मन्दिरको प्राङ्गणमा शनिबार लाख बत्ती बाल्नेहरु, मन्दिरमा पुजा पाठ गर्न आउने र बनभोज आउने जाने मानिसहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । यही भिडभाडभन्दा फरक दृश्य पनि त्यहाँ देखिन्थ्यो ।
मन्दिरको हाताभित्र र बाहिर चारैतिर हातमा ब्रस, रङ् र क्यानभाष बोकेका कलाकारहरु छरिएर बसेका थिए । कोही मन्दिरलाई चित्रमा उतार्न व्यस्त थिए । कोही मन्दिरको वरपरका दृश्यहरुलाई चित्रमा कैद गर्दै थिए । बनेपा, भक्तपुर, ललितपुर र काठमाडौंबाट आएका कलाकारहरु मन्दिर, पाटी, वरपरका साना मन्दिर अनि पारीपट्टीको हरियो जंगल क्यानभाषमा कैद गरिरहेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्पर्कमा आएका कलाकारहरु मिलेर हरेक शनिबार खुला आकाशमुनि बसेर चित्र कोर्न साटर्डे प्लेन एयर वर्कशप नामक समुह बनाए । जसले देशका बिभिन्न स्थानमा रहेको प्राकृतिक सम्पदा, पुरातात्विक महत्व बोकेका स्थानहरू पहिचान गरी त्यहाँको दृश्य क्यानभाष उतार्दै आएको बनेपाका कलाकार रुविन बादेले बताए ।
साटर्डे प्लेन एयर वर्कशपका संयोजक दिपेश प्रधानले ऐतिहासिक, धार्मिक, साँस्कृतिक पक्ष, जनजीवन, भेषभुषा, वातावरण, सम्पदा र स्थानीय महत्वलाई स्थलगतपमा अवलोकन गरी चित्रमा उतार्ने र त्यस्ता चित्रहरुलाई संकलन गरी २/३ महिनामा एकपटक प्रदर्शनीमा राख्ने गरेको जानकारी दिए ।
गत पुसमा रसुवाका प्राकृतिक सम्पदाहरुबारे कलाकारहरुले तयार गरेका चित्रहरु ठमेलमा प्रदर्शनीमा राखेका थिए । चित्रकलाको माध्यमबाट नेपाली कला, संस्कृति र ऐतिहासिक संपदाहरुको संरक्षण गर्नुका साथै देश विदेशमा प्रचारप्रसार गर्ने साटर्डे प्लेन एयर वर्कशपको उद्देश्य रहेको बताइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो समूहका रुविन बादे बनेपा, दिवेश प्रधान काठमाडौं, राकेशचन्द्र श्रेष्ठ ललितपुर, दिपेन्द्र बनेपाली भक्तपुर, राजेन्द्र याकमी भक्तपुर, पुण्य तामाङ्ग भक्तपुर, राधेश्याम कर्माचार्य भक्तपुर, लक्ष्मीप्रसाद खोतेजा भक्तपुर, विकाश विसुङ्छे भक्तपुर, प्रकाश मानन्धर ठिमी, हरि प्रजापति ठिमी, श्रीजीत भासिमा ठिमी, तथागत चित्रकार काठमाडौं, साजिद शाक्य बनेपा, बालकलाहरु श्रीजयी श्रेष्ठ र श्रीयास श्रेष्ठ बनेपा लगायतका कलाकारहरुले चण्डेश्वरीको सम्पदा र स्थानीय महत्वलाई स्थलगत रुपमा अबलोकन गरी चित्रहरु तयार पारेको र उक्त चित्र साँझपख प्रदर्शनमा राखेको स्थानीय कार्यक्रम सहजकर्ता एवं कलाकार रुविन वादेले बताए ।