चिनियाँ उपप्रधानमन्त्री याङको नेपाल भ्रमण र अर्थ राजनीति

चिनियाँ उपप्रधानमन्त्रीले नौ तले दरबार पुनर्निर्माणको शिलान्यास गर्ने

३० साउन ०७४, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार पाकिस्तानको बाटो हुँदै सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।

उपप्रधानमन्त्री याङले काठमाडौंको बसाइका क्रममा बसन्तपुरस्थित नौ तले दरबार पुनर्निर्माणको शिलान्यास र कीर्तिपुरमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भ्रमण गर्ने कार्य सूचि छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राजनीतिक दलका शीर्ष नेताहरुसँगको शिष्टाचार भेट र वार्तालाप चिनियाँ उपप्रधानमन्त्रीको कार्यसूचिमा  छन् ।

उपप्रधानमन्त्री वाङलाई चीन- अमेरिका सम्बन्धका जानकारका रुपमा समेत हेर्ने गरिएको छ । हँसिला र जनसम्पर्कमा सिपालु नेता मानिने वाङले चीन र अमेरिकाको सम्बन्धलाई ‘विवाहित जोडी’ जस्तै बताउने गरेका छन् । र, यो जोडीले आपसमा सम्बन्धविच्छेद गर्न नहुने तर अमेरिकाको समलिङ्गी विवाहसँग डराउनुपर्ने बताउने गरेका छन् ।

उपप्रधानमन्त्री याङको नेपाल भ्रमण र अर्थ राजनीति

नेपाल र पाकिस्तान चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको फराकिलो विश्व व्यवस्था ‘बेल्ट एन्ड रोड इनीसीएटीभ’ (बीआरआई)को हिस्सा बनिसकेका छन् । र, ‘वान बेल्ट वान रोड’ (ओबीओआर) संज्ञा दिइएको उक्त रणनीतिलाई राष्ट्रपति सीले आफ्नो मुलुकको प्रतिष्ठाको विषय बनाएका छन् ।

संयोगवस, भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तथा मन्त्रिपरिषद् सचिवालयका पूर्वअतिरिक्त सचिव जयदेव रानाडे चिनियाँ उपप्रधानमन्त्री वाङको भ्रमणको पूर्वसन्ध्यामा सुटुक्क काठमाडौं उत्रिएका छन् । नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्ष समेत रहेका उनी एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन आएका हुन् ।

दक्षिण एसियाका दुई प्रभावशाली मुलुक नेपाल र पाकिस्तानमा चार दिन बिताउने चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण तालिकाको रणनीतिक महत्व कमजोर देखिँदैन ।

अझ, उनी स्वदेश फर्किएको ठ्याक्कै सातौं दिन (७ भदौमा) प्रधानमन्त्री देउवा पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमणमा नयाँदिल्ली पुग्दैछन् । त्यस क्रममा देउवाले दक्षिणी छिमेकीसँग गर्ने सहमति र सम्झौताप्रति चिनियाँ चासो ह्वात्तै बढेको छ ।

चार वर्षयताका तीनजना प्रधानमन्त्रीले चीनसँग तीन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । सुशील कोइरालाका पालामा एसियाली पूर्वाधार विकास बैंक, केपी ओलीले पारवहन र यातायात साथै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओबीओआर परियोजनामा प्रवेश गर्ने सम्झौता गरेका छन् ।

ओबीओआर केन्द्रित रणनीतिक साझेदारी अगाडि बढाउने विषयमा नेपालले देखाएको सुस्त शैलीलाई काठमाडौं बसाइका क्रममा तीव्रता दिलाउन उपप्रधानमन्त्री वाङले पहलकदमी लिने आँकलन परराष्ट्र मामिलाका जानकारहरुको छ ।

परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डे भन्छन्, ‘सम्झौता गर्ने तर कार्यान्वयनको पाटोमा सुस्त देखिने नेपाली शैलीबारे चिनियाँहरु अनभिज्ञ छैनन् । तिनै सम्झौता कार्यान्वयनको गति बढाउन उच्चस्तरीय भ्रमण भएको हुनसक्छ ।’

ओबीओआर चीनको रेल र सडक विस्तारको रणनीति मात्र होइन । आर्थिक सहायता, विकास र व्यापारमा सहकार्य, पूर्वाधारमा लगानी, जनस्तरको सम्बन्ध सुधारलगायत सबै विषय यससँग जोडिएका छन् । विश्वभर साझेदारी पहुँचको नौलो प्रयोग पनि हो यो ।

विकासका तीनवटा चरण पार गरेर चीन ओबीओआर व्यवस्थामा प्रवेश गरेको हो । देङ सियाओ पिङले खुला बजारमा प्रवेश गर्ने अवधारणा ल्याएका थिए । जियाङ जेमिनले सामाजिक उत्पादनशील शक्तिहरूको स्तर उकास्ने र चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने रणनीति लिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले वैज्ञानिक विकासको अवधारणा ल्याए । तीनै चरणको अपार सफलतापछि राष्ट्रपति सीको ओबीओआर अवधारणा सतहमा देखिएको हो ।

स्थलमार्गबाट युरोप र एशियाली मुलुकहरूबीच कनेक्टिभिटी र आर्थिक समन्वय तथा २१ औं शताब्दी सुहाउँदो ‘मेरिटाइम सिल्क रुट’ विकासको उद्देश्यमा दुवै महादेशका अधिकांश मुलुकले सहमति जनाइसकेका छन् ।

 

तपाइको मत