३२ साउन ०७४, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको विदेश नीतिको प्रशंसा गरेका छन् ।
नेपाल भ्रमणमा रहेका याङले नेपालको सन्तुलित विदेश नीतिको प्रशंसा गरेका हुन् ।
चिनियाँ उपप्रधानमन्त्री याङले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका अलग-अलग भेटमा नेपालको सन्तुलित विदेश नीतिप्रति खुसी व्यक्त गरे ।
डोक्लाम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादमा नेपालले लिएको तटस्थ नीतिप्रति संकेत गर्दै उनले परराष्ट्र नीतिको प्रशंसा गरेका हुन् ।
प्रचण्डसँगको भेटमा चिनियाँ उपप्रधानमन्त्रीले नेपालले विगतमा गरेका सहमति-सम्झौताको दृढतापूर्वक कार्यान्वयन र राजनीतिक स्थिरताबारे चासो देखाए ।
भेटमा माओवादी अध्यक्ष दाहालले बेल्ट एन्ड रोड चिनियाँ अवधारणामा नेपालले हस्ताक्षर गरिसकेको भन्दै आफूहरू चीनसँगको सम्बन्ध थप मजबुत र फराकिलो बनाएर जान चाहेको बताए ।
‘बेल्ट एन्ड रोड अवधारणालाई हामीले समर्थन गरेका छौं, यसलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा साथ दिन्छौं, सार्कमा तपाईंहरू पनि पर्यवेक्षककै रुपमा हुनुहुन्छ । राष्ट्रसंघीय मञ्चमा पनि हामी तपाईहरूसँगै छौं’, दाहालको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने, ‘नेपाल र चीन बीचको सम्बन्ध असाध्यै फराकिलो छ । यसलाई अझ हामीले सबै हिसाबले प्रगाढ बनाउन चाहन्छौं ।’
दाहालले चीनले भूकम्पका बेलादेखि अहिले तराई-मधेसमा आएको बाढीबाट पीडित नेपालीको राहत र उद्धारका लागि चीनले गरेको सहयोग सराहनीय र नेपालले चाहेर पनि बिर्सन नसक्ने खालको रहेको भन्दै आभार व्यक्त गरेका थिए ।
यसैगरी चिनियाँ उपप्रधानमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग छुट्टै भेट गरेका छन् । चीनका उच्च अधिकारीले नेपालका नेतालाई एक्लै भेटेका विरलै उदाहरण छन् । होटल सोल्टीमा अपराह्न एमाले पदाधिकारीसँगको संयुक्त भेटपछि ओलीले छुट्टै वाङ्लाई भेटका हुन् । ‘अध्यक्षले म एक्लै चिनियाँ उपप्रधानमन्त्रीसँग कुरा गर्छु, तपार्इंहरू बाहिर जानुस् भन्नुभएपछि हामी बाहिर निस्कियौं । लगभग ३५ मिनेट उहाँहरूबीच कुराकानी भयो । के छलफल भयो त्यो थाहा भएन’, ओलीनिकट एमाले नेता विष्णु रिमालले भने ।
उपप्रधानमन्त्री गच्छदारसँग द्विपक्षीय वार्ता
उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री विजय गच्छदारसँग होटल सोल्टीमा मंगलबार द्विपक्षीय वार्ता गरेका छन् ।
वार्तामा नेपाल-चीनबीचको समग्र द्विपक्षीय मुद्दा र सहकार्यका क्षेत्रबारे समीक्षा गरिएको थियो । गच्छदारले नेपालले कुनै पनि छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बताउँदै एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
गच्छदारले चिनियाँ उच्च टोलीको सम्मानमा दिवाभोज पनि दिएका थिए ।
तीन सम्झौतापत्रमा हस्ताक्षर
वार्तापछि नेपाल-चीनबीच तीन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थसचिव शान्तराज सुवेदी र चीनका आपूर्ति मन्त्रालयका उपमन्त्री यु जियानहुवाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
१. चीन र नेपालबीच आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चीनले नेपाललाई एक अर्ब चिनियाँ आरएमबी तातोपानी नाकाको सुदृढीकरण, अरनिको राजमार्ग स्तरोन्नति र रसुवाको टिमुरेमा पुल निर्माणका लागि अनुदानस्वरूप उपलब्ध गराउनेछ ।
२. चीन-नेपालबीच नेपालमा तेल र ग्यास अन्वेषणका लागि सवा २ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
३. चीन र नेपालबीच लगानी प्रवद्र्धन र आर्थिक सहकार्यका लागि ढाँचा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट चिनियाँ लगानीलाई आकर्षण गर्ने सरकारको नीति छ ।