२० पुस ०७६, काठमाडौं । नेपाल प्रहरीले चिनियाँ नागरिक नेपालमा बसेर अवैध गतिविधि गरिरहेको भन्ने दाबी पुष्टि हुन सकेन ।
चीनको समन्वयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको चिनियाँ नागरिक एक हजार धरौटीमा छुटेसँगै प्रहरीको दाबी पुष्टि नभएको हो ।
यही पुस ७ गते १२२ जना चिनियाँ नागरिक पक्राउ गरेसँगै प्रहरीले नेपाल बसेर उनीहरुले अवैध गतिविधि गरिरहेको दावी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार एक हजार रुपैयाँ जरिवाना तिराएर पक्राउ परेका चिनियाँ नागरिकहरूलाई छाड्न आदेश दिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चिनियाँ नागरिकहरुले अभद्र व्यवहारसम्बन्धी कसूर स्वीकार गरेको हुनाले थप बुझ्नु पर्ने नदेखिएको बताएका छन् ।
उक्त मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको र प्रतिवादीले आरोप सकारेको भन्दै दाहालले थप बुझ्नु पर्ने नदेखिएको बताएका हुन् ।













