१७ चैत ०७६, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेकी छन् ।
राजदूत याङ्कीले चीनबाट कोरना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं आइपुगेको अत्यावश्यक मेडिकल सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेकी हुन् ।
उनले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताइन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सहयोग सामग्री प्राप्त भएसँगै विश्वव्यापी संकटको बेला छिमेकी देश चीनकातर्फबाट ठूलो सहयोग सामग्री प्राप्त भएको बताए ।
उनले कोरोनाविरुद्ध विश्व एक भएर लाग्नुपर्ने बताएका छन् ।
यसैबीच स्वास्थ्य तथा जनासंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले चीनबाट अनुदान र खरिद समेत गरेर ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने बताएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारदेखि नै प्रदेशहरुमा मेडिकल सामग्री तथा पीपीई वितरण गरिने जानकारी दिए ।
सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क, गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्ममिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, रिएजेन्ट, परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।
प्रवक्ता देवकोटाले चीनका केही सहयोगी संस्थाले कोरोना परीक्षण गर्ने किटसहित व्यक्तिगत सुरक्षाका सामाग्री र परीक्षणमा प्रयोग गरिने मेडिकल सामग्रीहरु सहयोग गरेको पनि जानकारी दिए ।