चिया मजदुरलाई सामाजिक सुरक्षाकोषमा सूचीकृत गरियोस् – चिया बगान श्रमिक

२४ साउन ०७७, झापा । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले नेपाल चिया उत्पादक संघ समक्ष चार बुँदे माग राखेका छन् ।

चिया क्षेत्रमा क्रियाशील तीन संगठनले शनिबार भद्रपुर, झापामा पत्रकार सम्मेलन गरेर चिया बगान श्रमिकहरुका समस्या हल गर्न चार बुँदे माग राखेका हुन् ।

अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सिता सापकोटाले ट्रेड युनियन र रोजगारदाता बिच विगतमा भएका सहमति पूर्णरुपमा कार्यान्वयन गरेर व्यवसायीहरुलाई असल श्रम सम्बन्ध कायमै राख्न आग्रह गर्दै श्रमिकहरुका मागलाई बेवास्ता गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनीस्वरुप पत्रकार सम्मेलन गरिएको बताइन् ।

चिया श्रमिकहरुका माग पत्रमा भनिएको छ, “श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक २ वर्षमा न्युनतम् पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भएकाले २०७७ साउन १ गतेदेखि लागू हुने गरी चिया श्रमिकहरुको पारिश्रमिक वृद्धि गरियोस् । साथै पत्ति डबली समय अनुकूल वृद्धि गरियोस् ।”

यसैगरी मजदुरले सम्झौताअनुसारको भुक्तानी नपाएको भन्दै यथाशिघ्र भुक्तानी गर्न आग्रह गरिएको छ । साथै, श्रमिकहरुले आफ्नो पारिश्रमिकबाट सामाजिक सुरक्षा कर तिर्दै आएको तर अहिलेसम्म सूचीकृत नगरिएको समेत बताएका छन् ।

“हामी श्रमिकहरुले आफ्नो पारिश्रमिकबाट सामाजिक सुरक्षा कर तिर्दै आएका छौ तर अहिलेसम्म पनि हामीलाई सुचिकृत नगरिएकोले हामी तिरेको करबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । त्यसैले सबै चिया श्रमिकहरुलाई अनिवार्य सामाजिक सुरक्षाकोषमा सूचीकृत गरियोस्” माग पत्रमा भनिएको छ ।