चिसाेले ७ जनाको मृत्यु, सामुदायिक विद्यालय थप ४ दिन बन्द 

२४ पुस ०७४, राजविराज । चिसोसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

अघिल्लो रात चिसोका कारण जिल्लामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा चिसोका कारण मर्नेको संख्या १४ पुगेको छ ।

सप्तरीका डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार शनिबार राति कृष्णा सवरण गापा ४ का ६० वर्षीय लखन ठाकुरको चिसोका कारण मृत्यु भएको छ ।

यस्तै तिलाठी कोईलाडी गापा ७ का ३६ वर्षीय शिवु मण्डलको पनि शनिबार राति जाडोले मृत्यु भएको वडा अध्यक्ष गुलाव सिंहले जानकारी दिए ।

यसैगरी कञ्चनरुप नगरपालिका २ बरमझियाका ५५ वर्षीय बेचन शेख र ७ का ६१ वर्षीय उतम मरिक डोमको पनि मृत्यु भएको छ ।

चिसोकै कारण शनिबार राति डाकनेश्वरी नपा ८ का ५५ वर्षीय झौली यादव र कञ्चनरुप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

यस्तै खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको पनि चिसोले मृत्यु भएको छ ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।

सप्तरीका सामुदायिक विद्यालय थप ४ दिन बन्द

यता, अत्याधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप ४ दिन बन्द गरिएको छ ।

यसअघि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो ।

अत्यधिक चिसो बढेपछि शिक्षा समितिको निर्णयअनुसार पुस २६ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए ।

एक साताभन्दा अघिदेखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४ सय १२ वटै सामुदायिक विद्यालय बिहीबारदेखि नै बन्द छन् । निजी विद्यालय भने सञ्चालन भइरहेका छन् ।

चिसोका कारण निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन् । जिल्ला दैवि प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका सिडिओ भागिरथ पाण्डेले हालसम्म सप्तरीमा दुई जनाको चिसोका कारण मृत्यु भएको बताउँदै चिसो पीडितलाई जोगाउन सक्दो प्रयास भईरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म ७ हजार कम्वल वितरण गर्यो । अब ७ हजार पुनः बाँड्ने तयारीमा छौं ।’

न्यानो बाँडदै जिल्ला दैवी प्रकोप उदार समिति

यसैबिच नेपाली सेना, वन कार्यालय र राजविराज नगरपालिकाले चिसोबाट प्रभावित भएका र आर्थिक रुपमा गरिब र बिपन्न समुदायलाई लक्षित गरी न्यानो लुगा वितरण तथा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।

चिसो प्रभावित वस्तिमा गएर सेना, वन कार्यालय र राजविराज नगरपालिकाले दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै शरीर तताउन कम्मल र न्यानो लुगा वितरण कार्य थालेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अत्याधिक चिसोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएपछि श्रोत साधनले भ्याएसम्म राहत दिने काम थालिएको जानकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापन


पछिल्लो एकसाता यता वढेको चिसोका कारण जिल्लामा एक दर्जन बढिको मृत्यु र चिसो पीडितको जनजीवन कष्टकर बन्दै गएपछि मृतकलाई क्षतिपूर्ति र प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्दै आईतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ ।

प्रदेश सभा सदस्य शैलेन्द्र साहको अगुवाईमा स्थानीयले आईतबार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

तपाइको मत