चीनको अडानले एनएसजीको सदस्य हुने भारतको चाहना असफल

वेब तस्बिर

वेब तस्बिर

११ असार, काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा हुने परमाणु हतियार आपूर्तिकर्ता समूह (एनएसजी) को बैठक अघि नै सदस्य हुने भारतको चाहनालाई चीनले असफल पारिदिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनएसजीको सदस्यका लागि आफूलाई सहयोग गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङ्गलाई गरेको आग्रह चीनले बेवास्ताको कारण तुहिन पुगेको हो । चीनले यसअघि पनि भारतलाई एनएसजीको सदस्यता दिन नहुने भन्दै विरोध जनाएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार चीनले सियोल बैठकमा भारतलाई सदस्यता दिने कुरा नउठाउन भनिसकेको तर भारतलाई सदस्यता दिने आवाज उठेपछि चीन, अस्ट्रिया, न्युजील्यान्ड, आयरल्यान्ड, ब्राजिल र टर्कीले चर्को विरोध गरेका थिए ।

अर्जेन्टिना, दक्षिण कोरिया, अमेरिका, ब्रिटेन, इटाली, मेक्सिको, स्विटरल्यान्ड र रूसले भारतलाई एनएसजीको सदस्यताका लागि समर्थन गरिरहेका छन् ।

४८ देश सदस्य रहेको एनएसजीमा एउटै देशले मात्रै विरोध गरे पनि सदस्यता मिल्दैन । भारतले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरेकाले उसलाई एनएसजीको सदस्यता दिन नहुने अडान चीनले राख्दै आएको छ ।

परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि सियोलमा बिहीबार राति भएको विशेष सत्रमा चीनको नेतृत्वमा केही देशद्वारा कडा विरोध जनाएपछि भारतको आवेदन खेर गएको हो ।

चीनले एनएसजी सदस्यताका लागि पाकिस्तानको समर्थन गरेर परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरी भारतले सदस्य बन्न गरेको प्रयासमा पासो हालिदिएको हो ।

चीनले भारतलाई सदस्यता दिने भए उ सँगै पाकिस्तानलाई पनि दिनुपर्ने अडान लिएको छ । चीनसहित आधा दर्जन देश विरोधमा उभिएकाले भारतले सदस्यता पाउने सम्भावना करिब समाप्त भइसकेको छ ।

तपाइको मत