काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चीनलाई हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन आग्रह गरेको छ ।
सो पार्टीले उक विज्ञप्ति जारी गरेर नेपालको भूभाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष राजनीतिक नक्सा सच्याउन आग्रह गरेको हो ।
‘चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ ।’
नेपालले राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसङ्घ लगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने तर्फ क्रान्तिकारी कम्युनिस्ट पार्टीले विज्ञप्तिमा आशङ्का व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घ सहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सा सम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’