चीन पूर्ण सार्वभौम प्यालेष्टाईनको पक्षमा

४ साउन ०७४, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई राष्ट्रको अवधारणामा प्यालेष्टाईन मुद्दाको समाधान गर्नु पर्ने बताएका छन् ।

राष्ट्रपति सी जिनपिङले चीनको भ्रमणमा रहेका प्यालेस्टाईन राष्ट्रपति महमौद अब्वाससँगको भेटवार्तामा चीन स्वतन्त्र र पूर्ण सार्वभौम प्यालेष्टाईनको पक्षमा रहेको बताएका हुन् ।

सी जिनपिङले सन १९६७ मा कायम भएको सिमा अनुसारनै पूर्वी जेरुसेलम राजधानी भएको सार्बभौम राष्ट्र चीनको चाहना भएको बताएको हो ।

चीनको सिन्हा समाचार एजेन्सीका अनुसार, यो लामो विवाद समाधानमा सहयोग गर्ने उदेश्यले चीनले प्यालेस्टाईन र इजरायलविचको शान्तिका बिषयमा यही बर्षको अन्त्यमा एउटा कार्यक्रम गर्दैछ । ‘प्यालेष्टाईन मुद्दाको उपयुक्त राजनीतिक व्यवस्थापनका लागि हुने प्रयासमा चीन सहभागि हुन इच्छुक छ’ उक्त रिपोर्टमा भनिएको छ,‘चीनले प्यालेष्टाईन, इजरायल र चीनविचको त्रिपक्षीय संवाद संयन्त्र प्रस्ताव गरेको छ, जसमा प्यालेष्टाईनको पक्षमा मुख्य परियोजना अघि बढाउने कुरा समेत छ ।’

राष्ट्रपति सीले प्यालेष्टाईन जनताको बैधानिक राष्ट्रिय अधिकार पुर्नस्थापित गर्ने न्यायोचित कदमको चीनले समर्थन गर्ने बताएका छन् ।

चीनले प्यालेष्टाईन  र इजरायल दुबैलाई  ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को महत्वपूर्ण साझेदार मान्छ ।

तपाइको मत