९ मंसिर ०७४, पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् ।
शनिबार संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको बताएका हुन् ।
ओलीले चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताए ।
उनले कम्युनिस्टहरुको जनमत दुईतिहाइ भए पनि एकआपसमा टुटफुट र विभाजनले आजसम्म गैर वामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङ, उपसंयोजक प्रभा कोइराला र प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारी सहभागी थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाई स्वागत गरेका थिए ।