६ मंसिर ०७४, चितवन । वाम गठबन्धनको संयुक्त जनसभा एवं पार्टीका पोलिट्व्यूरो सदस्य क. प्रकाश दाहालको शोक सभामा गीत गाउने क्रममा हृदयघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको अन्त्येष्टि गरिँदैछ ।
जनवादी गायक पाख्रिनलाई चुनावी सभामा हृदयघात भएपछि नारायणी सामुदायिक अस्पतालमा उपचारकै क्रममा असमायिक निधन भएको हो । पाख्रिनको सामुदायिक वन नजिक अन्त्येष्टि गरिने भएको हो ।

अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए । सो कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल लगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।
माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका पाख्रिन रामबहादुर थापा ‘बादल’को टोलीसँगै एकीकृत माओवादीमा फर्किएका थिए । चितवन निर्वाचन क्षेत्र नं. ४ मा ०७१ सालमा भएको संविधानसभा उपनिर्वाचनमा उम्मेदवार रहेका पाख्रिनको घर पश्चिम चितवनको रामपुरमा छ ।
माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहीद परिवार हुन् । उनी माओवादी केन्द्रको हाल सल्लाहकार थिए ।













