३० फागुन ०७४, काठमाडौं । काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकले आगामी चैत ६ गतेदेखि विशेष पोशाक लगाउने भएका छन् ।
पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् ।
उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।
अब यातायात मजदुरलाई व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् ।
उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।
अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकेका छन् ।













