चौतारी र सेन्टरले काँग्रेस गठबन्धनको भण्डाफोर गर्ने

सेन्टर र चौतारीको निर्णय : संयुक्त चुनाव परिचालन समिति गठन गर्ने

१३ कार्तिक ०७४, काठमाडौं । प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको केन्द्रीय पदाधिकारीको संयुक्त बैठकले एमाले-माओवादी गठबन्धनलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सघाउन ‘संयुक्त प्रचार–प्रसार चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र निकट सेन्टर र एमाले निकट चौतारीका पदाधिकारीको आइतबार बसेको संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवारहरुको प्रचार–प्रसारमा सहयोग गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा ‘संयुक्त प्रचार–प्रसार चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय गरेको हो ।

‘वामगठबन्धनका उम्मेदवारहरुको प्रचार–प्रसारमा सहयोग गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा ‘संयुक्त प्रचार–प्रसार चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय गरिएको छ,’ बैठकपछि सेन्टरका महासचिव विष्णु सापकोटा र चौतारीका महासचिव राजेश राईद्वारा जारी गरिएको संयुक्त परिपत्रमा भनिएको छ, ‘जिल्ला पार्टी र प्रचार विभागसँग समन्वय गरेर प्रदेश र जिल्लास्तरमा तीनदिन भित्र परिचालन समिति गठन गर्न निर्देशन गरिन्छ ।’

यसैगरी एमाले–माओवादी गठबन्धनको चुनावी तालमेल र पार्टी एकतालाई सफल बनाउन सबै जनवर्गीय संगठनहरुलाई संयुक्त कार्यक्रम बनाएर जान पार्टीले निर्देशन जारी गरेको भन्दै परिपत्रमा वाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा स्थानीय र केन्द्रका सञ्चार माध्यमहरुमा समाचार प्रकाशन र प्रशारणका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

सेन्टर र चौतारीको संयुक्त बैठकले संयुक्त भेला, पत्रकार सम्मेलन र आन्तरिक प्रशिक्षणको तयारी गर्न, उम्मेदवारहरुको प्रचारका लागि पत्रकारहरु फिल्डमै खटाउने साथै निर्वाचनको प्रचार अभियानका लागि संयुक्त सचिवालय निर्माण गर्ने निर्णय समेत गरेको छ ।

चौतारी र सेन्टरले काँग्रेस गठबन्धनको भण्डाफोर गर्ने

नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र तिनका नेताहरुले वाम गठबन्धनविरुद्ध भ्रम फैलाइरहेको भन्दै प्रेस चौतारी र प्रेस सेन्टरले उनीहरुको भण्डाफोर गर्ने साथै संयुक्त कार्यक्रममार्फत् भ्रमको प्रतिरोध गर्ने बताएको छ ।

चौतारी र सेन्टरको संयुक्त परिपत्रमा भनिएको छ, ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको घोषणापछि यो गठबन्धनलाई कमजोर बनाउन विरोधीहरुले विभिन्न भ्रम फैलाइरहेको तथ्यलाई मध्यनजर गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरियो ।’

संयुक्त बैठकले विरोधीहरुको प्रतिरोध गर्न केन्द्रीयस्तरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बौद्धिक समुदाय, विश्लेषक र लेखकहरुसँग समन्वय गरी विपक्षीका गतिविधिविरुद्ध सामग्री उत्पादन र वितरण गर्ने साथै स्थानीयस्तरमा पनि त्यस अनुरुपका कार्य गर्न निर्देशन परिपत्रमा उल्लेख छ ।

 

तपाइको मत