२२ जेठ ०७७, काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले चौरजहारी नगरपालिका ८, सोती घटनाका आरोपीहरुलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नवराज विकको प्रेम प्रकरणबाट घटेको चौरजहारी घटनामा १८ जना आरोपीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार १० दिनको म्याद थप गरेको हो ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको समूहलाई गत १० जेठमा गाउँलेहरुले लखेट्दा भाग्ने क्रममा भेरीमा हामफालेका भनिएका नवराजसहित सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, टीकाराम नेपाली र गोविन्द शाही मृत भटिएसँगै घटनाको अनुसन्धान भइरहकेको छ ।
मृतकका परिवारले सो घटनामा २० जनाका नाममा किटानी जाहेरी दिएपछि चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जना पक्राउ परेका छन् भने २ जना फरार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।