छुवाछूतमुक्त भएको १९औं वर्ष पूरा, कार्यान्वयन नहुनु दुखद – प्रचण्ड

२१ जेठ ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा सम्पूर्ण मुक्तिकामी समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध तथा नेपाली जनताले न्याय, स्वतन्त्रता र समानताका पक्षमा सञ्चालन गरेका आन्दोलनहरूको जगमा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९ वर्ष पुगेको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थ विरुद्ध बृहत् शान्ति सम्झौता पश्चात वि.सं. २०६३ साल जेठ २१ गते पुनर्स्थापित संसदबाट नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यो घोषणा साढे तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेका सामाजिक विभेद अन्त्य गर्न गरिएको ऐतिहासिक पहल थियो ।’

नेकपा माओवादी पार्टीको नेतृत्वमा सञ्चालन भएको दशवर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा बनेको नेपालको संविधानले दलित समुदायका हक-अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘संविधानमा छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरिएको छ । साथै, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि हो ।’

संवैधानिक प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नहुनु दुखद पक्ष भएको बताउँदै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको तर यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी भएको सन्देशमा उल्लेख गरेका छन् ।