जघन्य अपराधका घटनामा हदम्यादको कानुनी व्यवस्था हटाउन माग

८ जेठ ०७९, काठमाडौं । महिला सांसदहरुले सरकारसँग बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्यादको कानुनी व्यवस्था हटाउन माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरलगायतका सांसदहरुले प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको अनौपचारिक छलफलमा नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा हदम्यादको कानूनी व्यवस्था हटाउनु पर्ने बताएका हुन् ।

सौन्दर्य प्रतियोगिताका आयोजकले ८ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर छलफलमा सांसदहरुले कम्तिमा पनि बालिकाहरुमाथि हुने यस्ता घटनामा उनीहरुले जुन दिन मुख खोल्ने अवस्था हुन्छ, त्यही दिनबाट मात्रै हदम्याद लगाउने व्यवस्था गर्न उपयुक्त हुने बताएका छन् ।