२७ साउन, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वर्ष पुरा गरी १५ औँ वर्षमा प्रवेश गरेको सुअवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।
‘सार्वजनिक सेवा जति जनउत्तरदायी हुन्छन्, त्यति नै सुशासन कायम हुन्छ । जनताले पनि राज्यका संरचनाप्रति अपनत्व महसुस गर्दछन् ।’ भन्दै उनले सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण एवम् भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सुशासन कायम गर्ने ध्येयले विसं २०५९ मा आजकै दिन केन्द्रको स्थापना गरिएको थियो ।
प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने सरकारी निकायमध्ये राष्ट्रिय सतर्कता केन्द्र पनि एक भन्दै उनले सार्वजनिक निकायले आफूले निर्धारण गरेका काम समयसीमाभित्र पूरा मात्र गरिदिएमा पनि सुशासन आफैँ कामय हुने बताए।
उनले आफूले प्रमको कार्यभार सम्हालेपछि सरकारका विशिष्ट अधिकृतलाई राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै संविधानको कार्यान्वयन गर्न, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन, शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, भूकम्पपीडित जनतालगायत अन्यलाई प्रत्यक्ष अनुभूत हुने खालको राहत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए ।