१३ फागुन ०७४, धनुषा । प्रदेश २ का मन्त्रालय जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखानाको भवनमा स्थापना गरिएको छ ।
जनकपुर चुरोट कारखानाको ४ तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको हो । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ ।
कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र गतिले भइरहेको छ । जनकपुर चुरोट कारखानाका वरिष्ठ अधिकृत बस्ने चारवटा क्वार्टरलाई मर्मतसम्भार गरेर मन्त्रीको निवास बनाइएको छ ।
जनकपुर चुरोट कारखानाको कम्पाउण्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय तथा मन्त्रीहरूको आवास राखिएको छ ।
यसअघि जनकपुरको शहरी विकास तथा भवन निर्माण कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यालय जनकपुर चुरोट कारखानाभित्रै सारिएको छ ।
प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थको कार्यालय र निवास शुरुमा जनकपुर चुरोट कारखानामा राखिएको थियो ।













