१४ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहना तथा राष्ट्रको आवश्यकता शान्ति, समृद्धि र विकास नै भएको बताएका छन् ।
व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्नेछौं’ प्रचण्डले भने ।
उनले राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु भएको पनि सुनाए ।
‘सबै जनता खुसी होउन् । सबैमा समृद्धि आवस्, सबैमा शान्ति छावस् भन्ने नै हो,’ प्रचण्डले थपे, ‘हुन त मैले यो कुरा गर्दैगर्दा हिँजो युद्धको नेतृत्व गरेको, विद्रोहको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्दा कता-कता के हो भन्याजस्तो पनि लाग्नसक्छ । तर हिजो इतिहास हेर्यो भने युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि त्यत्तिकै ठूलो भूमिका खेलेका इतिहास छन् ।’