११ जेठ ०७७, धनुषा । जनयुद्धमा दुबै छोरा गुमाएका क्यान्सर पीडित तुलाराम विश्वकर्माको निधन भएको छ ।
आर्थिक अभावमा छोरीहरुको आश्रयमा उपचार गराइरहेका धनुषा जिल्ला, मिथिला नगरपालिका लालगढ निवासी ७० वर्षीय विश्वकर्माको शनिबार राती निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको दुईभाइ छोरामध्ये जेठो छोरो अमर विश्वकर्मा (अखिल नेपाल ट्रेड युनियन महासंघको पूर्वकेन्द्रीय सदस्य)लाई २०६० मंसिर ५ गते काठमाडौंबाट तत्कालिन राज्यसत्ताले बेपत्ता बनाएको थियो ।
त्यस्तै अर्का छोरा जगत विश्वकर्मा तत्कालीन राज्यपक्षबाट घटाइएको दोरम्बा हत्याकाण्डमा सहिद भएका थिए ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै पटकपटक सरकारको नेतृत्व गर्दा बेपत्ता छोरो फर्कने वा सत्य–तथ्य सार्वजनिक हुने आशामा बसेका तर डेढ वर्षदेखि क्यान्सर रोगले थलिएका तुलाराम अब कहिल्यै नफर्कने गरी अस्ताए ।
आज उनको अन्तिम संस्कार ६८ वर्षीया श्रीमती मैया विकले दागबत्ती दिएर गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) उपाध्यक्ष धनबहादुर विकले जानकारी दिए ।