जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउँछः क.प्रचण्ड

३१ भदौं ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन् ।

शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित जनसभालाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै अहिलेको स्थानीय सरकार चलाउने घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको बताउँदै उनले भने -‘अरु कसैले माने पनि नमाने पनि अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईहरु राम्रोसँग वुझ्नु होला  अनि काम पनि त्यसरी नै गर्नुहोला ।’

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएको र रुकुमका सबै तहमा माओवादीले विजय भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए ।

अध्यक्ष प्रचण्डले ०६४ सालको  संविधानसभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहंकारले दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुगेको बताउँदै उनले भने, ‘अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला, यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ।’

शनिबार महोत्तरीबाट रुकुम पुगेका प्रचण्डले आफू मधेसको चुनावी अभियानबाट आएकाले मधेस पूरै माओवादीमय भएको र अबका सबै चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी समेत गरे।

रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्रले जितेपछि  एमाले अध्यक्ष ओलीले रुकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर टिप्पणीको कटाक्ष गर्दै प्रचण्डले भने, ‘विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन्  तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।’

 

 

 

 

 

 

 

तपाइको मत