काठमाडौं । विश्वका कम्युनिष्ट पार्टीहरुले संयुक्त वक्तव्य जारी गर्दै जनताको स्वास्थ्य र अधिकारको रक्षामा लाग्न संयुक्त आग्रह गरेका छन् ।
विश्वव्यापीरुपमा कोभिड १९ ले महामारीकोरुप लिएपछि विश्वका कम्युनिष्ट पार्टीहरुले संयुक्त वक्तव्य जारी गर्दै जनस्वास्थ्य र जनअधिकारको रक्षा गर्न तत्काल अवलम्बन गर्नुपर्ने उपायहरू समेत सुझाएका हुन् ।
जनस्वास्थ्यको सुरक्षा, श्रमजीवी वर्गको हक अधिकारका लागि तत्काल आवश्यक कदम चाल्नु पर्ने भन्दै संयुक्त वक्तव्यमा कोभिड १९ को संक्रमित बिरामीको उपचारमा खटिएका सबै डाक्टर, नर्स, अस्पताल र स्वास्थ्य कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
संयुक्त वक्तव्यमा कोभिड–१९ को लडाईमा संसारभरका नागरिकले ठूलो कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै संक्रमित व्यक्तिहरूप्रति हार्दिक एकता र शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
यसैगरी कोरोना प्रभावित देशहरूमा संक्रमणसँग जुध्न स्वास्थ्य सुरक्षा सामग्री र चिकित्सक समेत पठाएर सहयोग गर्ने देशहरुप्रति पनि कृतज्ञ बनेको वक्तव्यमा उल्लेख छ ।
कोभिड १९ को संक्रमणले पूँजीवादी देशहरूको स्वास्थ्य प्रणालीमै अभाव सिर्जना गरिदिएको तथ्य प्रमाणहरुले बताएको भन्दै वक्तव्यमा एकाधिकार पूँजीपतिहरूको नाफामा टेवा पु-याउने निजी स्वास्थ्य प्रणाली र ठूलो धनराशी निजीकरणमा खर्चिएको सरकारले अपनाएको जनविरोधी नीतिले यतिबेला जनस्वास्थ्यमा जटितला देखिएको बताइएको छ ।
आजको संकट र अनुभवले परजीवी चरित्रलाई उदाङ्गो गरेको उल्लेख गर्दै वैज्ञानिक समाजवादले मात्रै मानिसहरुको सबैखाले आपतकालीन स्वास्थ्य आवश्यकताहरु पूरा गर्नसक्ने बताइएको छ । साथै, कोभिड १९ लाई देखाएर ठूला पूँजीपतिको सेवामा रहेका सरकारहरुले एकाधिकार समूहहरुको समर्थनमा आफ्नो वित्तीय उपायहरु केन्द्रित गर्ने र फेरि एकपटक मजदुरहरुमा संकटको बोझ थोपर्ने समेत उल्लेख छ ।
विश्वका कम्युनिष्ट पार्टीहरुको उक्त वक्तव्यमा महामारीलाई सम्बोधन गर्न चाल्नु पर्ने कदम बारे पनि चर्चा गरिएको छ । राज्यले नै जनताको स्वास्थ्य र जीवनको रक्षा गर्न आवश्यक सबै उपायहरु अपनाउनु पर्ने उनीहरुले बताएका छन् ।
यस्तै, राज्यद्वारा सार्वजनिक स्वास्थ्य प्रणालीको तत्काल सुदृढ गर्नुपर्ने, स्वास्थ्य सुरक्षाको ग्यारेण्टीसहित आवश्यक पूर्णकालिक चिकित्सक र नर्सिङ्ग भर्ना गर्नुपर्ने, सघन उपचार कक्ष (आईसीयू)सहितका सार्वजनिक स्वास्थ्य सेवा र अनुसन्धान सेवाहरूको लागि आवश्यक पूर्वाधारहरू निर्माण गर्नुपर्ने, राज्यद्वारा नै जनतालाई सुरक्षाको लागि सबै आवश्यक साधनहरू (मास्क, ग्लोभ, एन्टिसेप्टिक्स आदि)को तत्काल उपलब्धता गर्नुपर्ने, सम्पूर्ण स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गर्नुपर्ने, महामारीका कारण रोजगारी गुमेका सम्पूर्ण मजदूरको श्रम अधिकारको प्रत्याभूत गरिनु पर्ने साथै कार्यस्थलमा कामदारहरूको सुरक्षा हुनपर्ने बताएका छन् । साथै, कोरोना भाइरसको बहानामा जनताको प्रजातान्त्रिक अधिकार कटौती गर्न नहुने पनि वक्तव्यमा उल्लेख छ ।
संयुक्त वक्तव्य जारी गर्नेहरुमा अल्बानिया, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, अजरबैजान, बंगलादेश, बेल्जियम, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, चिली, क्रोसिया, क्युवा, साइप्रस, डेनमार्क, इजिप्ट, फिनल्याण्ड, जर्जिया, जर्मन, ग्रीस, हंगेरी, भारत, ईरान, आयरल्यान्ड, इजरायल, इटाली, जोर्डन, काजाकिस्तान, कोरिया, लिथुआनिया, माल्टा, मेक्सिको, नर्वे, नेदरल्याण्ड, पाकिस्तान, प्यालेस्टाइन, पराग्वे, पोल्याण्ड, पोर्चुगल, फिलिपिन्स, रोमानिया, रूसी संघ, सोभियत संघ, युगोस्लाभिया, सर्बिया, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, क्याटालोनिया, स्वाजिल्याण्ड, स्वीडेन, सुडान, सिरिया, टर्की, युक्रेन, संयुक्त राज्य अमेरिका, भेनेजुएला लगायत देशका कम्युनिष्ट पार्टीहरु रहेका छन् ।