जम्मु-कश्मिरस्थित भारतीय सुरक्षाफौजको क्याम्पमा आक्रमण, कम्तिमा ५ सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली । जम्मु-कश्मिरस्थित भारतीय सुरक्षाफौजको केन्द्रीय रिजर्भ पुलिस फोर्स क्याम्पमा आक्रमण भएपछि भएको भिडन्तमा भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

पुलिस फोर्स क्याम्पमा आइतबार मध्यराति आक्रमण भएपछि भएको भिडन्तमा कम्तिमा ५ भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् ।

आतंकवादी संगठन जैस ए मोहम्मदका सशस्त्र हतियारधारी सदस्यले केन्द्रीय रिजर्भ पुलिस फोर्सको तालिम केन्द्रमा हमला गरेपछि यो घटना भएको हो ।

यो घटनामा सीआरपीएफका पाँच जवान मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जवाफी कारबाहीमा दुईजना आक्रमणकारी मारिएको पनि बताइएको छ ।

करिब १२ घन्टासम्म चलेको भिडन्तका क्रममा अन्य तीनजना भारतीय सुरक्षाकर्मी घाइते भएका छन् ।

आइतवार बिहान करिब २ बजे आतंकवादीहरुको समूह पुलवामास्थित लेथपोराको १८५ सीआरपीएफ बटालियनको तालिम केन्द्रमा पसेको थियो । उनीहरुले त्यहाँ पसेर पहिले ग्रिनेड हानेका थिए । त्यसपछि उनीहरुले लगातार गोली बर्साएका थिए ।

जवाफी कारवाहीका क्रममा एक अन्य जवान सैफुदिन पनि मारिएका थिए । भिडन्तपछि खानतलासी गर्दा दुईजना आक्रमणकारीको शव भेटिएको छ।

आतंकवादी संगठन जैश-ए-मोहम्मदले यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ।

जैशका प्रवक्ता हसन शाह यो हमलामा आफ्ना साथीहरु नुर त्राली र तलह रशिदको हत्याको बदला लिन सीआरपीएफ क्याम्पमा हमला गरिएको बताएका छन् ।

तपाइको मत