जाँजरमा मुस्लिमहरुको इज्तेमा सुरु

३ फागुन ०७६, राजविराज । सप्तरीको जाजँरमा शनिबारदेखि मुस्लिम समुदायको धार्मिक सम्मेलन “नेपाल इज्तेमा २०२०” सुरु भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ जाजँरमा इस्लामिक इज्तेमा सम्मेलन सुरु भएको हो ।

यस इज्तिमामा २ लाख भन्दा बढी मुस्लिम समुदायको सहभागी रहने बताउँदै आयोजकले इस्लामिक सम्मेलनमा नेपाल–भारतका विभिन्न प्रान्तका धर्म गुरुहरुको सहभागिता रहेको जानकारी दिएको छ ।

यस इस्लामिक सम्मेलनमा नेपाल र भारतबाहेक तेश्रो मुलुकका धर्मगुरुको सहभागिता हुने देखेपछि नेपाल सरकारले इज्तेमा सम्मेलन गर्न रोक नै लगाएको थियो तर नेपाल र भारत बाहेक मुलुकहरुबाट आएका धर्मगुरुहरुलाई फिर्ता पठाएसँगै पूर्वनिर्धारित कार्यक्रमअनुसार इज्तिमा सम्मेलन सुरुभएको हो ।

नेपाल सरकारको बिनाअनुमति इस्लामिक इज्तेमा सम्मेलनमा सहभागी हुन आएका पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया, दुबई र थाइल्यान्डबाट आएका धर्मगुरु लगायतका सहभागीहरुलाई शुक्रबार साँझ नै आयोजकले फिर्ता पठाएको थियो ।

इस्लामिक इज्तेमा सम्मेलनमा सरिक हुन अहिलेसम्म एक लाख भन्दा बढी मुस्लिम समुदायहरुको उपस्थिति रहेको र यो संख्या बढ्न सक्ने सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनले यस इज्तेमा सम्मेलनमा कुनै किसिमको समस्या उत्पन्न हुन नदिनका लागि र सुरक्षालाई ध्यानमा राखेर नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको समेत बताए ।