९ माघ ०७४, काठमाडौं । जाजरकोट र बाजुरापछि सोलुखुम्वुमा पनि मौसमी रुघाखोकी अन्तर्गत हङकङ फ्लु (एच३एन२) देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जाजरकोट, बाजुरा र सोलुखुम्वुवाट ल्याइएको थ्रोट स्वाव (र्याल) को सबै नमुनामा परीक्षण पछि मौसमी रुघाखोकी अन्तर्गत (एच३एन२) भएको पुष्टि गरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले प्रभावित जिल्लाका बिरामीको थ्रोट स्वाब (र्याल) परीक्षण गर्दा हङकङ फ्लु (एच३एन२) पुष्टि भएको बताए ।
डा.महतोले बाजुराबाट ल्याइएको ५ नमुनामध्ये ३ जनामा, जाजरकोटको ८ नमुनामध्ये ५ जनामा र सोलुखुम्वुवाट ल्याइएको १६ नमुनामध्ये सबैमा मौसमी रुघाखोकी (एच३एन२) देखिएको बताए ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्यले मौसमी रघाखोकी हिमाली भेगमा जाडो रहुन्जेल र अन्य ठाउँमा गर्मी शुरु होउन्जेल रहिरहने औल्याउदै जहा–जहा प्रकोप देखिन्छ त्यही व्यवस्थापन गर्ने रणनीति अन्तर्गत एपिडिमियोलजी काम गरिरहेको बताए ।
यो रुघाखोकी सन् १९६८ को जुलाइमा हङकङबाट सुरु भएकाले यसको नाम हङकङ फ्लु रहन गएको हो । सन् १९६८ को जुलाइमा हङकङबाट फैलिएको फ्लुको प्रकोपले विश्वभर १० लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको आकलन गरिएको थियो ।
हाल हङकङ फ्लु भाइरलविरुद्ध आम मानिसको शरीरमा रोग प्रतिरोधक क्षमता विकसित भइसकेकाले यसलाई त्यति खतरनाक मानिँदैन । तर नेपालमा भने यो सामान्य रुघाखोकीको दाँजोमा अलि कडा देखिएको छ ।













