३० साउन, जनकपुरधाम । धनुषा जिल्लाको खरीहानी गाविस-५ सिमराढी निवासी ६० वर्षीया बृद्धा जानकी देवी कापडलाई बोक्सी आरोपमा स्थानीयले एक वर्षदेखि यातना दिँदै आएको सार्वजनिक भएको छ ।
टाउको, हात र खुट्टामा चोटपटक लागेकी जानकीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि स्थानीयले वर्ष दिनदेखि लगातार यातना तथा कुटपिट गर्दै आएको तथ्य बाहिर आएको हो ।
स्थानीयले बोक्सी आरोपमा आमालाई पटक-पटक कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खरिहानीमा उजुरी गरे पनि प्रहरी प्रशासनले कुनै चासो नदिएको जानकीका छोरा राम केवल कापडले बताएका छन् ।
जानकीका छोरा कापडले प्रहरीले दोषीलाई कारवाही गर्नुको सट्टा आमा र आफूलाई गाली-गलौज गरेको बताएको छ । तर, जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान पूरा भएपछि मात्रै पीडकलाई पक्राउ गर्ने बताएको छ ।
जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि अस्पताल भर्ना भएकी जानकीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।