
टोकियो । जापानी शाही परिवारकी सदस्य राजकुमारी माकोले एक सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि आफ्नो शाही हैसियत त्याग गर्न लागेको समाचार बाहिरिएको छ ।
यतिबेला प्रेमकै लागि जापानी राजकुमारी माकोले विशेष त्याग गरेको समाचारले विश्वको ध्यान खिचेको छ ।
जापानी सम्राट अकिहितोकी जेष्ठ नातिनी २५ वर्षे माकोले अध्ययन गर्ने क्रममा भेटिएका कानुनी फर्ममा काम गर्ने २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्न लागेकी हुन् ।
जापानको शाही कानुन अनुसार सर्वसाधारणसँग विवाह गरेमा राजकुमारीले शाही परिवार त्याग गर्नुपर्ने भएकाले राजकुमारी माकोले शाही हैसियत त्याग गर्न लागेको बिबिसीले जनाएको छ ।
टोकियोस्थित अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा अध्ययन गरिरहेका बेला राजकुमारी माको र कोमुरोबीच सन् २०१२ मा एउटा रेस्टुरेन्टमा भेट भएको थियो ।
राजकुमारीसँगको विवाह योजना बारे बिबिसीको प्रश्नमा कोमुरोले अहिले त्यसबारे टिप्पणी गर्न नमिल्ने बताउँदै उचित समय आएपछि प्रतिक्रिया दिने बताए ।
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले राजकुमारीको विवाहपूर्व इन्गेजमेन्टको तयारी बारे योजना भइरहेको बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापानको सार्वजनिक प्रसारक एनएचकेका अनुसार राजकुमारी र कोमुरोबीच अर्को वर्ष विवाह हुने अपेक्षा गरिएको छ ।
जापानी राजपरिवारको इतिहासमा राजकुमारी माकोकी फूपू राजकुमारी सायाकोले पनि सन् २००५ मा सर्वसाधारण नागरिकसँग विवाह गरेर पहिलोपटक शाही परिवारकी सदस्य सर्वसाधारण नागरिक बनेकी थिइन् ।













