४ फागुन ०७४, ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जापानी दूतावास पानीपोखरीमा जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्सर्न सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीचसम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ललितपुको हरिसिद्धिमा सञ्चालित सो अस्पताललाई दिइने उपकरण गैर नाफामुलक संस्था आईसीसीमार्फत दिन पाएकोमा आफूलाई खुशी लागेको राजदूत ओगावाले जानकारी दिए । ‘जापानी दूतावासले गरेको यो सहयोगले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलाई अझ धेरै विरामीलाई उपचारमा सहज होस भन्ने आशा लिएको छ,’ उनले भने, ‘सन् २०११ मा स्थापना भएको आईसीसीले यस्ता सामाजिक कार्यहरु अझै गर्न सफल होस् ।’
ओगावा र शाक्यबीच हस्ताक्षरपत्रमा अल्ट्रासाउण्ड, इको, कार्डियोग्राफी, ईआरसीपी, ब्रोन्कोस्कोपी मेसिनलगायतका उपकरण दिने उल्लेख छ । कार्यक्रममा आईसीसीका अध्यक्ष डा. शाक्यले आफ्नो संस्थाले यस्ता खाले सामाजिक कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।













